मानव शरीरभित्र यस्तो यन्त्र छ जसलाई मन भनिन्छ । मानवीय मन अति नै चञ्चल हुन्छ । हरक्षण त्यो मन हावासमान दौडिरहेको, उफ्रिरहेको हुन्छ । त्यसैले गर्दा मन अशान्त र दु:खी हुन्छ । मन भित्रभित्रै कलह भैरहेको हुन्छ । मन ह्दयमा अवस्थित छ । मन दुई प्रकारको छ–एक बहिर्मुखी अर्को अन्तर्मुखी । बहिर्मुखी मनभन्दा अन्तर्मुखी मन डरलाग्दो र भयङ्कर हुन्छ । अन्तर्मन दु:खपीडाले आकुलव्याकुल हुन्छ । विषम मनस्थितिमा उज्यालो पनि अन्धकार देखिन्छ, सेतो पनि कालै हुन्छ । यतिबेला मन भारी भै गर्हौंपनले मस्तिष्क बोझिलो एवं असावधान हुन्छ । शरीरमा लागेको चोटपटक सहन सकिन्छ परन्तु आन्तरिक वेदनाले उब्जाएको दु:ख, कष्ट र पीडाका कारणले मनमा भूकम्प नै ल्याउँछ । यो बाह्य रूपमा देख्न सकिँदैन । यतिबेला मानव मस्तिष्कमा तीतो, खल्लो अनुभूति वा शङ्का हुन्छ । तर्क र विचारका मार्गहरू विपरीत दिशामा बहन्छन् । यसले गर्दा मानसिक कष्ट आफैंमा भित्रभित्रै कुहिएर र सडेर नैराश्यको गहिरो खाडलमा जाकिन्छ । त्यतिबेला व्यक्ति न साथीसंगीका साथ बोल्छ न आफ्नो कुरा नै व्यक्त गर्छ । ऊ जति एकान्तप्रिय हुन्छ उति एक्लोपन महसुस गर्न थाल्छ । अनि एक्लै रोइ...