दैनिक २५ हजार सिलिन्डर ग्यास भित्रिँदै, उपभोक्ताको चुल्हो भने निभेको निभ्यै
२२ पुस, काठमाडौं । पछिल्ला दिनमा वीरगञ्ज बाहेकका नाकाहरुबाट ग्यास बुलेटहरु सहजै नेपाल प्रवेश गरिरहेका छन् । उद्योगहरुमा ग्यास सिलिन्डर भर्ने काम चलिरहेकै छ । तर पनि देशभर खाना पकाउने ग्यासको चर्को अभाव अझै कायमै छ ।
नेपाल आयल निगमको तथ्याङ्कलाई मान्ने हो भने पुस १ गतेदेखि २० गतेसम्म ३ हजार मेट्रिक टन ग्यास नेपाल आएको छ ।
२० गते भैरहवा नाकाबाट एकैपटक ३० बुलेट ग्यास पनि भित्रिएका थिए । मंगलबार पनि विभिन्न नाकाबाट झण्डै १० वटा बुलेट नेपाल आएका छन् । यसलाई आधार मान्ने हो भने पुस महिनामा मात्रै झण्डै २ सय बुलेट नेपाल प्रवेश गरेको देखिन्छ ।
एउटा बुलेटमा १८ मेट्रिक टन ग्यास हुन्छ । यसलाई आधार मान्दा एउटा बुलेटबाट २५ सय सिलिन्डरमा आधा ग्यास भर्न सकिन्छ । २ सय वटा बुलेटबाट झण्डै ५ लाख सिलिण्डर ग्यास भरिन्छन् । यसलाई आधार मान्दा पुसमा औसतमा दैनिक २५ हजार सिलिन्डरमा भर्न पुग्ने ग्यास भित्रिरहेको छ ।
यसरी पुस यता भित्रिएका ग्यास पहुँचवालाकोमा नपुग्ने हो भने ५ लाख उपभोक्ताको घरमा निभेको चुल्हो बल्ने थियो । तर, उपभोक्ता भने अझै लामो लाइन बसेर ग्यासको पर्खाइमा छन् ।
काठमाडौंमा दिनमा साढे १७ हजार सिलिन्डर !
नागढुङ्गा प्रहरीको तथ्याङ्क अनुसार दैनिक १० हजार सिलिन्डर ग्यास काठमाडौं भित्रिरहेका छन् ।
कुनै दिन १७ हजार सिलिन्डरसम्म ग्यास काठमाडौं आएको नागढङ्गा चेकपोष्टका प्रहरी नायव निरीक्षक गुणनिधी खकुरेलले अनलाइनखबरलाई जानकारी दिए ।
यसैगरी दैनिक औसत ३ बुलेट ग्यास पनि काठमाडौं भित्रिएका छन् । मंगलबार मात्रै ७ बुलेट ग्यास काठमाडौं आएका थिए ।
यसरी काठमाडौंमा दैनिक साढे १७ हजार सिलिन्डर ग्यास वितरणका लागि आइपुग्छन् । तर, अझै उपभोक्ताले भने सहजरुपमा ग्यास पाउन सकेका छैनन् ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने काठमाडौं आएका ग्यास कुपन पद्दतिमा आधारित भएर विक्रेताहरु मार्फत बिक्री भइरहेको दावी गरे ।
तर, उपभोक्ता भने ग्यास नपाएर हैरान छन् । केही वितरण भइरहे पनि अधिकांश सिलिन्डर ठूलाबडा, पहुँचवाला र कालोबजारी गर्नेको हातमा पुगिरहेको आम उपभोक्ताको आरोप छ ।
बजारमा कालोबजारीयासँग महंगोमा ग्यास किन्न पाइने भएकाले उपभोक्ताको तर्क सत्यसंगत भएको सावित हुँदैछ ।

Comments
Post a Comment