उपसभामुखमा राप्रपा नेपालको दाबी
कमल थापा भन्छन्- सरकारमा हाम्रो दाबी रहँदैन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अब बन्ने नयाँ समीकरण अनुसार आफ्नो दलले उपसभामुख पाउनुपर्ने बताएको छ ।
‘सरकारमा हाम्रो कुनै चासो र सरोकार छैन, तर चौथो दल भएको नाताले उपसभामुखमा हाम्रो दाबी रहन्छ,’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले विहीबार अनलाइनखबरसँग कुरा गर्दै भने-‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमध्ये एउटा पद चौथो दलले पाउनु स्वभाविकै हो ।’
आफ्नो दललाई संविधानसभामा अहिलेसम्म निषेध गरिँदै आएकोमा तीन दलका नेताहरुले हालै आफूलाई भेटेर त्यस्तो निषेध नगर्ने बताएको थापाले स्मरण गरे । यदि राप्रपा नेपाललाई समान व्यवहार गर्ने हो भने उपसभामुख आफ्नो दलले पाउने उनले बताए ।
दोस्रो संविधानसभामा सभामुख एमालेले र उपसभामुख तेस्रो ठूलो दल एमाओवादीले पाएको छ । संविधान जारी भएको २० दिनमा सभामुख र उपसभामुखको नयाँ निर्वाचन गर्नुपर्ने संक्रमणकालीन व्यवस्था छ ।
अब बन्ने नयाँ समीकरण अनुसार नेपाली कांग्रेस राष्ट्रपति र एमालेले प्रधानमन्त्री पाउने अनुमान गरिएको छ ।
Comments
Post a Comment