एसएलसी परीक्षा आगामी चैत्र १८ गतेदेखि २९ गतेसम्म हुने, रुटिंग सहित
यसवर्षको एसएलसी परीक्षा आगामी चैत्र १८ गतेदेखि २९ गतेसम्म हुने भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक तराई मधेसमा जारी आन्दोलनका कारण दुई हप्ता पछि सरेको हो । परीक्षा समितिको बुधबार बसेको बैठकले एसएलसी परीक्षाको मिति तय गरेको हो । परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ । यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।यसपटकदेखि एसएलसी परीक्षामा पहिलोपटक लेटर ग्रेडिङ प्रणाली लागू गरिदैछ । लेटर ग्रेडिङ प्रणालीअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइनेछ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ । शिक्षा मन्त्रालयले गत मङ्सिर २६ गते अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि–२०७२ लाई स्वीकृत गरेको थियो । तर अक्षराङ्कन पद्धति अनुसार डि र डिभन्दा तल्लो ग्रेड प्राप्त गरेको विद्यार्थीले कुनै दुई वा त्योभन्दा बढी विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी वर्षको एसएलसी परीक्षा दिन पाउने व्यवस्था पनि मिलाइएको छ ।

Comments
Post a Comment