प्रचण्डको राजनीतिक प्रस्ताववारे बाबुरामको टिप्पणी : क्यान्सर लागेकालाई झारफूकको प्रेस्क्रिप्सन
- बाबुराम भट्टराई
काठमाडौं । पूर्वएमाओवादी नेता एवम् नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले प्रचण्डको राजनीतिक प्रस्तवालाई क्यान्सर लागेकालाई झारफूकको प्रेस्क्रिप्सन भनि टिप्पनी गरेका छन् ।
१. यो परम्परावादी चिन्तन र शैलीको निरन्तरतामा छ, यसमा कुनै गुणात्मक नयाँ सोंच र वस्तुपरक नयाँ प्रस्ताव/योजना छैन।पुरानै शब्दजाल छ, उही ‘अष्टपदी निबन्ध’को शैली छ।’क्यान्सर’ लागेको र ‘शल्यक्रिया’ गर्नुपर्ने भनिएको छ तर फेरि पनि उही ‘झारफूक’ कै प्रेस्क्रिप्सन( सिफारिस) गरिएको छ। सामान्य मात्रात्मक सुधार छ, कुनै क्रमभंग र अग्रगामी छलांग छैन। सारमा दस्तावेजको मूल चरित्र जडसूत्रीय-संशोधनवाद(अर्थात् मुखले क्रान्तिकारी तर व्यवहारमा यथास्थितिवादी)
र सारसंग्रहवाद (eclecticism) छ।
२. आजको विश्व राजनीति र नेपालको ठोस ऐतिहासिक चरणको मुख्य समस्या विचारको विकास नै हो। एक्काइसौं शताब्दीको शुरुका दशकसम्म आइपुग्दा व्यक्तिको निजी गुण र स्वार्थलाई प्रधानता दिने उदारवाद/नवउदारवाद र मानिसको सामुहिकतालाई प्रधानता दिने शास्त्रीय मार्क्सवाद ( साथै दुवैलाई छासमिस पार्ने सारसंग्रहवाद) मा आधारित राज्यप्रणाली, पार्टी, अर्थतन्त्र, संस्कृति आदि सबै गम्भीर संकटमा छन्। भर्खरै सामन्ती युगबाट पुँजीवादी युगमा प्रवेश गरेको तर उत्पादक शक्तिको विकास(अर्थात आर्थिक विकासको स्तर) संसारकै सबभन्दा पिंधमा रहेको नेपालका आफ्नै थप विशिष्ठता र जटीलता छन्।
यो स्थितिमा समय र परिस्थिति अनुकुल विचार/विज्ञानको विकास नगरी र त्यही अनुरुप कार्यदिशा/कार्यक्रम, संगठनात्मक सिद्धान्त/पद्धति/शैली/आचरणको विकास नगरी उही पुरानै शब्दजाल र मन्त्रोच्चारणमा बँधिएर र केही शृंगारात्मक ‘विधि’ थपथाप गरेर कहीं पनि पुगिन्न।विचार र संगठन पुरानो तर विधि नयाँले केही हुन्न र त्यो कार्यान्वयन पनि हुन्न।त्यसैले प्रचण्डको यो प्रस्ताव जर्जर भैसकेको घरलाई केही समय काठको टेको लगाएर थम्याउने मिथ्या प्रयास मात्रै हो।
३. नयाँ शक्ति र बाबुरामवारे प्रचण्डले गरेको टिप्पणीमा पनि कुनै सिर्जनशीलता र मौलिकता छैन। आफु भन्दा फरक विचार राख्नेहरुलाई मुख्यत: स्टालिनको पालादेखि ‘बाह्य शक्ति’ संग जोडेर चरित्र-हत्या मात्र हैन भ्याएपुगेसम्म भौतिक सफाया गर्नेसम्मको दु:खद विरासदबाट प्रचण्ड यति छिटै मुक्त हुने आशा गर्नु शायद आदर्शवादी परिकल्पना मात्रै हुन्छ! स्टालिनको पालामा कम्युनिष्ट पार्टीका दुइतिहाइ( अर्थात ९८ जना) पोलिटब्यूरो र केन्द्रीय सदस्यलाई ‘जर्मन एजेन्ट’ को काल्पनिक आरोप लगाएर मारिएको कलंकपूर्ण इतिहासको भूतले कम्युनिष्टहरूलाई कहिलेसम्म लखेटिरहने हो भविष्यले नै बताउनेछ।
नयाँ शक्ति अर्थात वैकल्पिक राजनीतिक अभियान विगतबाट पाठ सिकेर जगैदेखि अहिलेको विश्वपरिस्थिति र नेपालको ठोस विशेषता अनुकुल नयाँ विचार, नयाँ कार्यदिशा, नयां ँ संगठन, नयाँ नेतृत्व, नयाँ शैली/आचरण र नयाँ संस्कृति निर्माण गर्ने मौलिक प्रयत्न हो। नयाँ चीजको खोजी एउटा कठीन कार्य हो र त्यसले शुरुमा परम्परावादी र यथास्थितिवादी सोच र संस्कारमा हुर्किएकाहरूबाट भीषण आक्रमण र प्रतिरोधको सामना गर्दै अघि बढ्नुपर्छ भन्ने नयाँ शक्ति अभियन्ताहरुलाई राम्ररी थाहा छ।त्यसैले हामी कसैप्रति पनि अहिले कुनै आग्रह राख्दैनौं। बरू जोजसले हामीबारे चासो राखेर टिकाटिप्पणी गर्ने र वहसलाई अघि बढाउने काम गर्नुभएको छ वहाँहरुप्रति आभारी छौं!
जाँदाजाँदै अन्त्यमा, मैले एमाओवादी परित्यागको घोषणा गरेको अघिल्लो दिन असोज ८ गते प्रचण्डसंगको भेटमा मैले सबै माओवादी समूहहरू विघटन गरेर नयाँ शक्ति निर्माण गरौं भनेर राखेको प्रस्तावलाई वहाँले ठाडै अस्वीकार गरेको कुरा पनि अहिले चलिरहेको वहाँको केन्द्रीय समितिको वैठकमा सुनाइदिए म लगायतका साथीहरूले चालेको कदमको मर्म र वास्तविकता बुझ्न सबैलाई मदत पुग्थ्यो कि?
Comments
Post a Comment